काठमाडौं— मधेश प्रदेशको राजनीति यतिबेला उत्कर्षमा पुगेको छ । सोमबार मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको परमादेश अनुसार प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । तर, सभामा बहुमत हासिल गर्न सक्ने अवस्था नरहँदा उनले सभाको बैठकबाटै पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
मधेशमा दुई महिनाभित्र तेस्रो पटक मुख्यमन्त्रीले राजीनामा दिएका हुन् । एमालेले २२ दिनमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्री पद पनि गुमाएको छ । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले विवादास्पद रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । यादव पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल जस्तै एक महिना पनि पदमा टिक्न सकेनन् । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेश सभामा सम्बोधन गरिरहेका बेला उनलाई समर्थन गर्ने तीन दल बाहेक अन्य दलले प्रदेश सभा बैठक बहिष्कार गरे । मधेश प्रदेशमा कुल १०७ सदस्यीय रहेकोमा बहुमतका लागि ५४ प्रदेश सभा सदस्यको आवश्यकता पर्नेमा मुख्यमन्त्री यादवसँग एमालेका २४ जना, नेपाल संघीय समाजवादी पार्टीका एक जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जनाको मात्र समर्थन रहेको थियो ।
राजनीति


प्रतिक्रिया