काठमाडौं— नेकपा एमालेको ११औं महाधिवेशन यही मंसिर २७ देखि काठमाडौंमा हुँदैछ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट भएका छन् भने केही स्थानमा विवाद समेत देखिएको छ । वर्तमान अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक अध्यक्ष बन्ने इच्छा राखेका छन् । उता ओली अभिभावक बन्नुपर्ने भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गरिसकेका छन् । यतिबेला ओली र पोखरेल आफ्नो टिम बनाउने गृहकार्यमा जुटेका छन् । यसका साथै अध्यक्षपछि शक्तिशाली मानिने महासचिव कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । अहिले एमालेमा पदाधिकारीको संख्या १५ रहेको छ । भदौमा भएको एमालेको दोस्रो विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी संख्या घटाएर १५ बनाउने निर्णय गरेको थियो । पदाधिकारीको संख्या घटाएपछि दुवै पक्षलाई आफ्नो प्यानल बनाउन सकस परिरहेको छ । अध्यक्ष र वरिष्ठ उपाध्यक्षकै भिडन्तको रूपमा हेरिएको ११औं महाधिवेशनमा महासचिव पदका लागि आधा दर्जन बढी नेताहरूले आकांक्षा देखाएका छन् । संगठनको शक्ति महासचिवकै कमाण्डमा हुने भएकाले प्रमुख नेताहरू यस पदको दौडमा छन् । ओली प्यानलबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ गरी तीन जना महासचिवका आकांक्षी देखिएका छन् ।
देश


प्रतिक्रिया