काठमाडौं— लामो समयदेखि विवाद र विभाजनमा फसेको विदेशमा रहेका नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) अब भने एकजुट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ११औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी र अध्यक्ष महेश श्रेष्ठबीच बृहत् एकताको सम्झौतामा हस्ताक्षर भएको छ । दलगत राजनीतिका कारण करिब चार वर्षदेखि गैरआवासीय नेपाली संघ विभाजित बनेको थियो । परराष्ट्र मन्त्रालयअन्तर्गत दर्ता रहेको यो संस्था १०औँ महाधिवेशनमा सदस्यतासम्बन्धी विवादले विभाजित भएको हो । विधानअनुसार हरेक १० पञ्जीकृत सदस्यमा १ प्रतिनिधि तोकिने व्यवस्था रहे पनि केही देशमा उक्त प्रक्रिया अवहेलना गरिएको संघका सदस्यकै दाबी छ । जसका कारण विवाद जटिल बन्दै गएर विभाजनसम्म पु¥याएको थियो । राजनीतिक प्रभाव, व्यक्तिगत इगो र केही त्रुटिहरू सम्बोधन गर्न नसकेर अरूलाई दोष दिन थाल्दा संघ विभाजनको स्थितिमा पुगेको हो । एकताका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेको प्रयास पनि असफल साबित भएको थियो ।
देश


प्रतिक्रिया