काठमाडौं— जेनजी आन्दोलनका लागि सडकमा मान्छे उतार्न सामाजिक सञ्जालबाट महत्त्वपूर्ण भूमिका खेलेका पात्र हुन्, मिराज ढुङ्गाना । मिराज ढुङ्गानाकै आह्वानमा भदौ २३ गतेको आन्दोलनमा हराजौँ जेनजीहरू सामेल भएका थिए । तर, अहिले तिनै मिराज त्यही आन्दोलनकै जगमा बनेको अन्तरिम सरकारसँग पनि भेट गर्न नपाउने अवस्थामा पुगेका छन् । केही दिनयता मिराजसहित उनको समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने प्रयास गरे पनि उनीहरूले भेटका लागि समय पाएका छैनन् । मिराजसहित उनकै समूहका जेनजी युवाहरूले राजनीतिक प्रतिशोधका आधारमा लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने र भदौ २३ तथा २४ का घटनामा निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने जस्ता माग बुझाउन सोमबारदेखि प्रधानमन्त्रीलाई भेट्न निरन्तर प्रयास गरिरहेका छन् । तर, उनीहरूलाई सिंहदरबार प्रवेशमै रोक लगाइएको छ । सिंहदरबार प्रवेशमा रोक लागेपछि त्यहाँ मुठभेडकै अवस्था सिर्जना भएको थियो । आफूहरुकै आन्दोलनको जगमा बनेको सरकारलाई मागपत्र बुझाउन सिंहदरबार पस्न नपाएका मिराजसँग सम्बद्ध समूहका सदस्यहरूले बुधबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरे । सरकार धमाधम निर्वाचनको तयारीमा जुद्दा आफूहरू चुनावको पक्षमा नरहेको मिराजको स्पष्ट भनाइ छ ।
राजनीति


प्रतिक्रिया