राजनीति

महाधिवेशनमा भिड्दै ओली–ईश्वर, गुटका नेता खोसाखोस, महासचिव र उपाध्यक्ष बन्न नेताको दौडधुप (भिडियोसहित)


काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई गुट व्यवस्थापनमै सकस देखिने भएको छ । नेतृत्व चयनका लागि दुई पक्षबीच प्रतिस्पर्धा हुने पक्का भइसकेको छ भने अध्यक्ष ओली तेस्रो कार्यकालको नेतृत्व लिन अघि सरेका छन् । उनको टिममा उपाध्यक्षमा विष्णु पौडेल पुनः उम्मेदवारी दिने तयारीमा रहेको जनाइएको छ भने महासचिवमा शंकर पोखरेल नै दोहोरिने चर्चा छ । यता उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले पनि महासचिवमा आकांक्षा देखाएका छन् । यदि महासचिवमा पोखरेल दोहोरिए ज्ञवाली र गुरुङलाई उपाध्यक्षमा बढोत्तरी गर्न सकिने नेताहरूको भनाइ छ । तर, त्यसो भए पौडेललाई केमा व्यवस्थापन गर्ने ? यो गम्भीर प्रश्न छ । किनभने वरिष्ठ उपाध्यक्ष पद ईश्वर पोखरेलको रिसकै कारण ओलीले विधानबाटै हटाएका छन् । यदि त्यसमा तलमाथि गर्ने हो भने विद्या भण्डारीको सदस्यता नवीकरणमा लागेको बन्देज पनि खुला गर्ने खेल सुरु हुनेछ । यदि नगर्ने हो भने प्रदीप ज्ञवालीलाई ईश्वर पोखरेलले महासचिव बनाएर अघि बढे अर्को सकस थपिनेछ । यता उपमहासचिव विष्णु रिमाल पनि बढोत्तरीको चाहनामा छन् । सधैँ ओलीले गोजीबाट नाम निकाल्ने र त्यसमै तर मार्ने उनीजस्ताको अवस्था के हुन्छ, यसै भन्न सकिने स्थिति छैन ।