देश

लोकप्रियताको बलमा नयाँ पार्टी, कांग्रेस–एमाले हराउने हुटहुटी, छैन संगठन, अध्यक्ष नै हार्ने चिन्ता (भिडियोसहित)


काठमाडौं— मंसिर १ गतेदेखि निर्वाचन आयोगले प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु गरेसँगै निर्वाचनमा भाग लिने दलहरूले धमाधम दल दर्ता गरिरहेका छन् । मंगलबारसम्म ६८ वटा दल निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेका छन् । दल दर्ता गर्न मंसिर १० गतेसम्मको समय दिइएको हुँदा यो प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन प्रयोजनका लागि दर्ता भएका ६८ वटा दलहरूमध्ये १६ वटा दल नयाँ छन् । जसमा अधिकांश दलहरू राजनीतिक विचार वा सिद्धान्तभन्दा पनि व्यक्तिगत चर्चाको आधारमा खोलिएका छन् । रमणकुमार कर्णको नेतृत्वमा खोलिएको ‘जनादेश पार्टी नेपाल’ को उपाध्यक्ष हुन्, अभिनेत्री एलिजा गौतम । सञ्चारकर्मी ऋषि धमलाकी पत्नीसमेत रहेकी एलिजा त्यसैको चर्चामा राजनीतिमा होमिएकी छन् । विगतमा अन्य राजनीतिक दलसँग पनि आबद्ध भइसकेकी एलिजा सञ्चारकर्ममा श्रीमान् ऋषि धमला र मोडलिङ क्षेत्रमा आफैँले कमाएको लोकप्रियतालाई राजनीतिमा ढाल्न खोज्दै छिन् । तर, उनको पार्टीको जनाधार भने खासै छैन ।