राजनीति

रामचन्द्रको जुक्ति अलपत्र, सुशीलासँग दूरी बढ्यो, एमालेले छेड्यो विद्रोह, चुनाव नभए जोगिएला गणतन्त्र ?(भिडियोसहित)


काठमाडौं— जेनजी आन्दोलनपछि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँदा बडो युक्ति लगाएर व्यवस्था जोगाएको भन्ने राष्ट्रपति रामचन्द्र पौडेल अहिले चेपुवामा परेका छन् । त्यसबेला राष्ट्रपति पौडेलले सबै दलको स्वीकृतिमा प्रधानमन्त्रीमा कार्कीलाई नियुक्ति गरेका थिए । तर अहिले प्रधानमन्त्रीको नियुक्ति र राष्ट्रपतिको युक्तिविरुद्ध एमालेले बखेडा निकालेको छ । कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई असंवैधानिक तवरले बाध्य बनाएर प्रधानमन्त्रीमा कार्कीको नियुक्ति गरिएको जवाफ दिएका छन् । प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिँदै ओलीले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक भएको उल्लेख गरेका छन् । अदालतलाई लिखित जवाफ पेस गर्दै ओलीले जननिर्वाचित सरकारलाई अपदस्थ गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गराउने कार्य कानुनी शासनविरुद्ध भएको दाबी गरेका छन् । उनले यो भनाइलाई सार्वजनिक मञ्चमा पनि पटक पटक दोहो¥याउँदै आएका छन् ।