अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ नभएको ट्रम्पको प्रतिक्रिया


काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने आफूहरूको प्रस्ताव ‘अन्तिम’ नभएको बताएका छन्।

अमेरिकाले तयार पारेको शान्ति योजनामा राखिएका सर्तप्रति युक्रेन र उसका सहयोगीहरूले चिन्ता प्रकट गरिरहेका बेला ट्रम्पले यो नै अन्तिम नभएको बताएका हुन्। 

बीबीसीका अनुसार ह्वाइट हाउसमा ट्रम्पलाई पत्रकारहरूले सोधेका थिए, ‘हालको मस्यौदा युक्रेनका लागि अन्तिम प्रस्ताव हो कि होइन ?’

जवाफमा उनले ‘होइन, यो मेरो अन्तिम प्रस्ताव होइन।’ उनले थपे, ‘कुनै न कुनै तरिकाले हामीले यो युद्ध अन्त्य गर्नुपर्छ, त्यसैले हामी यसमा काम गरिरहेका छौँ।’

अमेरिकी प्रस्तावका विषयमा यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले कि आफ्नो गरिमा कि अमेरिकाको साथ त्याग्नुपर्ने हुन्छ।’ 

ट्रम्पले युक्रेनलाई २८ बुँदे योजना स्वीकार गर्न नोभेम्बर २७ सम्मको समय दिएका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो योजना सम्झौताको ‘आधार’ बन्न सक्ने बताएका छन्।