देश

देउवाका दिन गए, अब सुदूरपश्चिमको ‘लिडर’ भीम रावल ?, जेनजीको साथ कता ? दीपकको फुर्ती (भिडियोसहित)


काठमाडौं— १७ वर्षको उमेरमा सुदूरपश्चिमबाट उदाएका र ६५ वर्ष लामो राजनीतिक विरासत बोकेका कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिबाट विश्राम लिने चर्चासँगै सुदूरपश्चिमको अबको राजनीतिक ‘कमान्डर’ को बन्लान् भन्ने प्रश्न उठेको छ । यसअघिसम्म शेरबहादुर देउवा नै सुदूरपश्चिमको राजनीतिक कमान्डरका रूपमा परिचित थिए । यही चर्चाका बीच भर्खरै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको ‘नेपाली कम्युनिस्ट पार्टी’मा समाहित भएका डा. भीम रावललाई सुदूरपश्चिमको अबको राजनीतिक कमान्डरका रूपमा हेरिएको छ । एमालेमा हुँदा पनि सुदूरपश्चिममा राम्रो पकड बनाएका रावललगायत केन्द्र र प्रदेश स्तरका सक्रिय नेताहरू उक्त पार्टीमा गएपछि सुदूरपश्चिममा भीम रावल सांगठनिक र राजनीतिक रूपले झनै बलियो हुने निश्चित रहेको विश्लेषण भइरहेको छ । सुदूरपश्चिमका अछाम, बाजुरा, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा एमालेबाट रुष्ट भएका नेता–कार्यकर्ताको ठूलो संख्या तत्कालीन एकीकृत समाजवादी पार्टीमा हुनु र अहिले रावलसँगै जोडिनुले पनि माथिको विश्लेषणलाई थप बल पु¥याएको छ । यस्तै, नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भीम रावलसहित आफ्नै गृहजिल्ला अछामका प्रकाश शाह समेत ‘नेपाली कम्युनिस्ट पार्टी’मा समाहित भइसकेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सुदूरपश्चिममा एमालेको पहिलो पुस्ता नरहेको बताएका छन् । उनले ‘दशकौँ पार्टी काममा सहयोद्धाका रूपमा काम गरेका कमरेडहरू पार्टीबाट बाहिरिँदा मन चसक्क हुँदो रहेछ’ भन्दै भावनात्मक टिप्पणी गरेका छन् । यता रावलसँगै पार्टीमा समाहित भएका एमाले केन्द्रीय सदस्य प्रकाश शाहले त सुदूरपश्चिमलाई ‘मुल्याहा’ हुनबाट जोगाउन भीम रावल अघि बढेको बताएका छन् ।