काठमाडौं— बिहीबार मधेश प्रदेशको बारामा राजनीतिक कार्यक्रमका लागि अघि बढेका नेकपा एमालेका नेताहरू विमानस्थलमै रोकिए । नेकपा (एमाले)ले आयोजना गर्न लागेको ‘मधेश जागरण’ कार्यक्रममा सहभागी हुन हिँडेका महासचिव शंकर पोखरेल, जनवर्गीय संगठनका इन्चार्ज भानुभक्त ढकाल र युवा संघका इन्चार्ज महेश बस्नेतले काठमाडौँ छोड्न पाएनन् । व्यङ्ग्यको भाषामा भन्नुपर्दा, ‘कसैको तागत भए गुन्डा आएर देखाऊ’ भन्दै धम्क्याउने बस्नेतलाई ‘जेन जी’ले ‘दम भए बारा आएर देखाऊ’ भनेजस्तै पारिदिए । मधेशमा मुख्यमन्त्री नियुक्ति लगायतको विरोधमा रहेका विभिन्न राजनीतिक दलहरूले विरोधका कार्यक्रम जारी राखेका थिए । तर, बुधबार एमाले शीर्ष तहका नेताहरू आउने भएपछि सिमरा विमानस्थल नै घेराउ गर्न ठूलो जनशक्ति पुगेपछि नेताहरू काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका हुन् । सो क्रममा ‘जेन जी’ भनिने समूह र एमाले नेता कार्यकर्ताबीच झडपसमेत भयो भने सरकार कफ्र्यू नै लगाउन बाध्य भयो ।
निर्वाचनको मुखमा भएको यो घटनालाई नेपाली कांग्रेसदेखि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसम्मले संवेदनशील भनेका छन् । यसले निर्वाचन नहुने पक्का भएको एमालेले बताउँदा कांग्रेसले पनि त्यस्तै आशय व्यक्त गरेको छ । यता, रास्वपाले सिमरा घटना गम्भीर भएको बताएको छ । रास्वपा प्रवक्ता मनीष झाले निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने बताएका छन् । त्यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यो अवस्थामा कसरी चुनाव हुन्छ भनेर प्रश्न गर्दा एमाले नेता महेश बस्नेतले सरकार र विपक्षी दलहरू आफूहरूको आन्दोलनको प्रभावबाट ‘आत्तिएको’ टिप्पणी गरेका छन् । अर्थात्, उनीहरू सबैले यसलाई सरकारको औचित्यमाथिको प्रश्न बनाएका छन् ।
देश


प्रतिक्रिया