राजनीति

वारपारको लडाइँमा कांग्रेस, मध्यरातमा देउवा–गगन बैठक, गगनलाई शेखरको पनि धोका, मौका छोप्दै ६ भाइ (भिडियोसहित)


काठमाडौं— जेनजी आन्दोलनपछि पार्टीलाई सुधार्नुपर्छ भन्ने एजेन्डालाई आत्मसात् गर्दै पार्टी रूपान्तरणका लागि लडिरहेका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीका पदाधिकारीदेखि सभापतिसँग निर्णायक मोडमा छन् । पार्टी पुनर्जागरणका लागि, आन्दोलनमा ‘आफ्नै घरमा आगजनी भएको भोलिपल्टबाटै’ उनीहरूले सामाजिक सञ्जालमार्फत कार्यकर्ताको मनोबल बढाउनेदेखि आफूहरू सच्चिने र पार्टी रूपान्तरण गर्ने पटक–पटक वाचा गर्दै आइरहेका थिए । तिनै दुई महामन्त्री कांग्रेसभित्र विशेष कि नियमित तथा चुनावपछि कि अघि महाधिवेशन गर्ने भन्ने एजेन्डामा केन्द्रीय समिति बैठकमा महिनादिनदेखि छलफल गर्दा पनि बैठक अनिर्णित बनेपछि आफ्नो एजेन्डामाथि दबाब बढाउन अघि बढेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठकमा आफूले १४औँ महाधिवेशनमा गल्ती गरेको र पार्टी नेतृत्वको भुललाई स्वीकार्दा यो अवस्थामा आइपुगेकाले अब त्यो भुल नगर्ने गगन थापाले प्रतिबद्धता जनाएका थिए । मंगलबार गगनले फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै जेनजीको एजेन्डाले न्याय पाउन नयाँ विचार, नयाँ सोचका साथ अघि बढ्नु र सच्चिनु जरुरी रहेको बताएका छन् । साथै, उनले कांग्रेसभित्रको अहिलेको बहस अधिवेशनको मिति नभई पार्टी सुधारको दिशाबारे भएको भन्दै पुरानै शैलीले नभई सुधार गरेर मात्र नागरिकलाई विश्वास दिलाउन सकिने बताएका छन् ।