काठमाडौं— निर्वाचन आयोगले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोक्दै माघ ६ गते उम्मेदवारी दर्ताको तालिका सार्वजनिक गरेपछि उम्मेदवारहरूको विषयमा बहस सुरु भएको छ । विशेषगरी, जेन–जीले नरुचाएका पुराना दलका शीर्ष नेताहरूले के गर्छन् भन्ने चासो बढेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने समेत कानुनी झमेलामा छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म चुनाव नलड्ने घोषणा गरेका छैनन् । उनी पार्टीको कार्यकारी भूमिकाबाट पछि हटे पनि त्यसलाई निर्वाचनबाटै पछि हटेको भनेर बुझ्न सकिने अवस्था छैन । अर्कातर्फ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली त पार्टीको नेतृत्वसमेत छोड्ने पक्षमा छैनन् । फलतः आगामी निर्वाचनमा उनी उम्मेदवार नहुने कुरै भएन । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को भने अहिलेसम्म निर्वाचन क्षेत्र टुङ्गो लागेको छैन । गत निर्वाचनमा डा. बाबुराम भट्टराईसँग तालमेल गरेर गोरखाबाट चुनाव जितेका उनलाई चितवनमा रास्वपा भारी पर्ने अवस्था छ । तर, यसको अर्थ उनी उम्मेदवार नहुने भन्ने होइन । उता, माधवकुमार नेपालविरुद्ध पतञ्जलि प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । त्यस्तै, रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका छन् । यस्तो अवस्थामा उनीहरू चुनाव लड्छन् वा लड्दैनन्, यकिन भन्न सकिने अवस्था छैन ।
देश


प्रतिक्रिया