राजनीति

रास्वपाको गालीले ‘कोमा’मा सुमना, कुलमानलाई पनि धोका, सुदन र सागर पछि लाग्दा सकसमा (भिडियोसहित)


काठमाडौं— आगामी फागुन २१ गतेको निर्वाचनका लागि पुराना दलहरू पुनर्गठन र नयाँ दलहरू गठनको प्रक्रिया जारी छ । निर्वाचन आयोगले दल दर्ताका लागि यही कात्तिक ३० गतेसम्मको समय तोकेको छ र यो समय सकिन अब ४ दिन मात्र बाँकी छ । यही अवधिभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सहयोगमा वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा रास्वपाबाट अलग भएकी सुमना श्रेष्ठ, हामी नेपाल अभियानका संयोजक सुदन गुरुङ र सागर ढकालको सहभागितामा नयाँ पार्टी खोल्ने तीव्र तयारी थियो । तर, अन्ततः कुलमानले दर्ता गराएको ‘उज्यालो नेपाल पार्टी’मा सुमना, सुदन र सागरको टिम अटाउन सकेन । सुरुवातमा उनीहरूको समूहसँग ऊर्जामन्त्री घिसिङले चरणबद्ध छलफल गरेका थिए, तर अन्तिममा उनीहरूलाई बाहिरै राखियो । कुलमानको पार्टीमा नअटाएपछि उनीहरू अब के गर्छन् ? नयाँ दल खोलेर अघि बढ्लान् वा अन्य कुनै शक्तिसँग सहकार्य गर्लान् ? भन्ने चासो बढेको छ । साथै, यो टिममा सल्लाहकारको भूमिकामा रहेका मेयर शाहले अब के गर्लान् भन्ने कौतुहलता पनि छ । शाहकै सल्लाहमा केही हप्तादेखि पार्टीको नाम, संरचना, नेतृत्व र चुनाव चिह्नबारे साझा सहमति खोज्ने प्रयास भइरहेको थियो । तर, सहमतिको अन्तिम चरणमा मन्त्री घिसिङले आफ्नै पहलमा निर्वाचन आयोगमा दल दर्ता गराएपछि उक्त प्रक्रिया टुटेको हो । बालेनको मेयरको कार्यकाल आगामी चुनावपछिसम्म पनि बाँकी रहने हुँदा तत्काल नयाँ दल पनि नखोल्ने र चुनावमा नहोमिने, तर बाहिरबाट सहयोग गर्ने तथा दबाब समूह बनाएर अघि बढ्ने विकल्प उनको सामु छ ।

https://youtu.be/e–RkD4UTHE?si=R-nIn2FPc0KEmpyj