राजनीति

लयमा फर्किए भीम रावल, ओलीसँग भिड्ने, विदेशी शक्तिसँग लड्ने, राष्ट्रियताको मुद्दा नै फेरि उठाउने (भिडियोसहित)


काठमाडौं— नेकपा एमालेबाट निष्कासनमा परेपछि ‘मातृभूमि जागरण अभियान नेपाल’ चलाइरहेका डा. भीम रावल अन्ततः नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । नेकपा एमालेमा छँदा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाएका रावल, अन्ततः तीन दशकदेखि कम्युनिस्ट आन्दोलनको नेतृत्वमा रहेका प्रचण्डसँग एउटै मोर्चामा उभिएका हुन् । बुधबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा माधव–प्रचण्ड लगायतका नेताहरूसँग अङ्कमाल गर्दै उनी औपचारिक रूपमा पार्टीको हाई कमान्ड सदस्य रहने गरी सामेल भए । माओवाद परित्याग गरेका प्रचण्ड र ‘जनताको बहुदलीय जनवाद’ (जबज) को धार छोडेका माधव नेपाल लगायत १० वाम घटकबीच एकता भएपछि बनेको नेपाली कम्युनिस्ट पार्टीमा रावल पनि थपिएका छन् । पार्टी प्रवेशको औपचारिक घोषणा अघि पेरिसडाँडामा उनले माधव–प्रचण्डसँग ७–बुँदे सहमति पत्रमा हस्ताक्षर गरे, जसमा आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्ने र ‘जागरण अभियान’मा विभिन्न तहमा क्रियाशील व्यक्तिहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा पनि सोही तहमा समायोजन गर्ने उल्लेख छ ।