काठमाडौं— कहिले राष्ट्रिय स्वतन्त्र पार्टी त कहिले जेन–जीसँग बसेका कुलमान घिसिङ अन्ततः आफ्नै पार्टी गठन गर्न अग्रसर भएका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकाससहित तीन मन्त्रालयको मन्त्री रहेका घिसिङले उज्यालो नेपाल पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने गृहकार्य थालेका छन् । कुलमान तत्काल ‘उज्यालो नेपाल’ पार्टीमा सक्रिय हुने छैनन् भने यो पार्टीको संयोजकमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय रहनेछन् । योसँगै आफूलाई जेन–जी अभियन्ता मान्ने सुदन गुरुङ र रास्वपा छोडेकी सुमना श्रेष्ठले समेत घिसिङको साथ छोडेका छन् । किनभने सुमना उज्यालो नेपालभन्दा पनि ‘नेपाल विकास दल’, ‘नेपाल जनसेवा पार्टी’ नाम राख्नुपर्ने पक्षमा थिइन् । तर कुलमान सुरूदेखि नै उज्यालो नेपाल नाम राख्नु पर्ने पक्षमा थिए । लोडसेडिङ हटाएको र उज्यालो नेपाल ब्रान्ड रहेको भन्दै उक्त नाम नै राख्नुपर्ने उनको अडान थियो । अर्थात ‘उज्यालो नेपाल’ नाम राख्दा व्यक्ति केन्द्रित पार्टीजस्तो हुने र चुनाव चिह्न पनि बिजुलीको चिम राख्न नहुने सुमनाको सुझाव कार्यान्वयन हुन सकेन । यही कारण उनले घिसिङलाई ‘आई विस हिम अल दि बेस्ट’ भन्दै नयाँ बाटो रोज्ने निर्णय गरेको चर्चा छ । जसलाई उही रवि लामिछानेकै जस्तो कुलमानले पनि पार्टी र संगठित शक्ति भन्दा आफ्नो ब्रान्डलाई नै ठूलो मानेको रुपमा व्याख्या हुन थालेको छ ।
देश


प्रतिक्रिया