काठमाडौं— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले बर्दिबासको एक होटेलमै शपथ लिएका छन् । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई रातारात मुख्यमन्त्री नियुक्त गरेर होटेलमै शपथ गराएकी हुन् ।
यादवलाई ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी भण्डारीले बर्दिबासको पानस होटेलमा आज बिहान शपथ गराएकी हुन् । उनलाई आइतबारकै मिति राखेरै आजै नियुक्ति दिईएको थियो ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गत शनिबार २५ दिनमै पदबाट राजीनामा दिएका थिए। सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले बताएको छ । आइतबारको मितिमा यादवलाई ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी भण्डारी उपचारका लागि काठमाडौं जाने बताएपछि निवर्तमान मुख्यमन्त्री सोनलले विदाइ गरेका थिए ।
नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथपछि सोनलले मधेश प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन् ।


प्रतिक्रिया