देश

उथलपुथल ल्याएका जेनजी नै अप्ठ्यारोमा, भ्रष्टाचारी र नेता नै हाबी, कांग्रेस–एमालेले पेल्न थाले (भिडियोसहित)


काठमाडौं— गत भदौ २३ र २४ गते भएको दुई दिने आन्दोलन आजसम्म आइपुग्दा दिनगन्तीको हिसाबले ६३ दिन पुगेको छ । विशेषतः भ्रष्टाचार र बेथिति विरुद्धको प्रदर्शन भए पनि जेनजी आन्दोलनले सत्ता उलटपुलटदेखि नेपाली राजनीतिलाई नै नयाँ मोडमा पु¥याइदिएको छ । आन्दोलनले सत्तामा भएका दलहरूलाई आज सत्ता बाहिर त ल्याइदिएको छ नै, आन्तरिक राजनीतिमा पनि दलहरूलाई परिवर्तन हुनै पर्ने अवस्थामा ल्याइपु¥याएको छ । यसकै परिणाम स्वरूप, नेकपा (माओवादी) जस्तो ब्रान्ड बनिसकेको पार्टीले पनि नाम र चुनाव चिह्न नै फेरेर नयाँ दल गठन गर्नु परेको छ । नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा बोल्न नसक्नेहरू पनि खुलेरै नेतृत्व परिवर्तनका लागि चुनौती दिइरहेका छन् । नेपाली कांग्रेसमा पनि पार्टी सुधार अत्यावश्यक रहेको भन्दै आवाज उठिरहेको छ । आन्दोलनपछि क्रमिक रूपमा दलहरू आफूलाई सुधारिएको देखाउन प्रयत्न गरिरहँदा यता, परिवर्तनका संवाहक आन्दोलनकारीहरूले बनाएको सरकारको कार्यसम्पादनबाट भने उनीहरू नै सन्तुष्ट हुन सकेका छैनन् । जेनजी अगुवा सुदन गुरुङले नै गृहमन्त्री ओमप्रकाश अर्यालले आफूहरूले सोचेअनुरूपको कार्यसम्पादन गर्न नसकेको भन्दै असन्तुष्टि पोखिरहेका छन् । आफूलाई आन्दोलनको नेतृत्वकर्ता मध्येको एक बताउने मिराज ढुङ्गाना ‘गरिखान देऊ’ अभियानमा लाग्ने भन्दै गुमनाम हुँदा रक्षा बम दलका नेताहरूबाट हेपिन थालेकी छन् ।