काठमाडौं— सशस्त्र जनयुद्धकालमा प्रचण्डको निकटस्थ रहेर सल्लाह दिने र कठिन अवस्थामा काँध थापेर सहयात्रा गरेका जनार्दन शर्मा अन्ततः माओवादीबाट अलग भएका छन् । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) लगायत ८ दललाई एकीकरण गर्दै नयाँ शक्ति बनाउने निश्चित भएसँगै माओवादी केन्द्र औपचारिक रूपमा फुटेको छ । माओवादीभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनका लागि लगातार आवाज उठाइरहेका जनार्दन शर्मा भने प्रचण्डसँग नगई एक्लै संघर्ष गर्ने भएका छन् । उनले माओवादीका पूर्वसचिव राम कार्कीलगायतको साथ लिँदै मंगलबार ‘प्रगतिशील अभियान नेपाल’ नामको राजनीतिक अभियान घोषणा गरेका छन् । शर्मा, कार्की लगायतका नेताहरूले ‘माओवाद’ छाडेर ८ दलसँगको एकतामा भाग नलिने अडान लिएपछि प्रचण्ड ‘माक्र्सवाद–लेनिनवाद’लाई मार्गदर्शक सिद्धान्त मानेर अघि बढेका छन् । आइतबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका एकतामा आउने दलको उपस्थित भएको बैठकमा सहभागी शर्मालाई बोल्न नदिएको भन्दै उनी बैठकबाट बाहिरिएका थिए । तर, त्यहाँ उपस्थित अन्य नेताहरूले भने एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए । माओवादीले एकीकृत समाजवादीसहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्तावलाई अनुमोदन गरेको छ । मंगलबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले एकताको प्रस्तावलाई अनुमोदन गरेको हो । एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने भएको छ । यसका साथै (भोलि) बुधबार काठमाडौंमा हुने एकता राष्ट्रिय सम्मेलनबाट पार्टीको विधान र केन्द्रीय कार्यसमिति गठन गर्ने निर्णय हुँदैछ भने योसँगै औपचारिक रूपमा माओवादी र ‘माओवाद’ नयाँ शक्तिमा विलय हुनेछ । जनार्दन पक्षले नयाँ अभियानको घोषणा गरे पनि प्रचण्डले भने जनार्दनलाई गुमाउन नचाहेको भन्दै घर फर्कन आह्वान गरेका छन् । प्रचण्डले आफूहरूले जनार्दनलाई नलखेटेको र माओवादीले गुमाउन नचाहेको प्रतिक्रिया दिएका छन् ।
देश


प्रतिक्रिया