देश

एमालेमा नयाँ ट्वीस्ट, ओली हटाउन ईश्वर र योगेश लागे, बैठकमै भनाभन, विद्या फकाउन बाध्य, महेशकै रापताप (भिडियोसहित)


काठमाडौं— जेन–जी आन्दोलनले नेतृत्व परिवर्तनको दबाब बढाएसँगै सबै ठूला राजनीतिक दलहरू महाधिवेशन केन्द्रित बनेका छन् । एकातिर फागुन २१ मा घोषित आमनिर्वाचन र अर्कोतिर महाधिवेशनको तयारी गर्नुपर्ने दोहोरो चटारोले दलहरूलाई गाँजेको छ । यही चटारोको मारमा परेको नेकपा एमालेमा पनि जेन–जी विद्रोहपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न चर्को दबाब परेको छ । हालै सम्पन्न सचिवालय र केन्द्रीय कमिटी बैठकमा समेत धेरै नेताहरूले ओलीले अब नेतृत्वबाट बिदा लिनुपर्ने पक्षमा खुलेर आवाज उठाए । तर, ओलीले यसअघि नै विधान संशोधनमार्फत दुई वर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाएर तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला गरिसकेका छन् । यस्तो अवस्थामा दोस्रो पुस्ताका केही नेताहरूले नयाँ नेतृत्वका लागि प्रयास गरिरहे पनि ओलीले पद नछाड्ने स्पष्ट संकेत दिइसकेका छन् । फलस्वरूप, एमालेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ गतेसम्म ११ औँ महाधिवेशन गर्ने निर्णय गरेर तयारी अघि बढाए पनि त्यो अन्ततः ओलीलाई नै अनुमोदन गर्ने औपचारिकतामा सीमित हुने लगभग निश्चित छ । यसकारण, अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि सचिव योगेश भट्टराईजस्ता नेताहरू विभिन्न विकल्पको खोजीमा छन् । अहिलेबाटै दबाब बढाउँदै लगेका उनीहरू महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।