देश

नयाँ रणनीतिमा कांग्रेस–एमाले, गुुमेको साख फिर्ता गर्ने, व्यवस्था जोगाउने, सुशीलालाई असफल पार्ने (भिडियोसहित)


काठमाडौं— वर्तमान सरकार असंवैधानिक भएको ठहर एमाले र कांग्रेस दुवै दलको छ । यी दुई दल संसद् पुनःस्थापनाको मुद्दामा एकमत देखिएका छन् । जेनजी आन्दोलनअघिको गठबन्धनलाई उनीहरूले अहिलेसम्म पनि कायम राखेका छन् । मधेश प्रदेशमा सरकार बनाउँदा होस् वा अन्य ६ वटै प्रदेशमा, कांग्रेस–एमालेकै सरकार निरन्तर चलिरहेका छन् । यसले के देखाउँछ भने अहिले पनि कांग्रेस–एमाले राजनीतिक मुद्दामा एकै ठाउँमा छन् भन्ने स्पष्ट हुन्छ । त्यसैअनुसार, अहिले तत्कालीन प्रतिनिधिसभाका यी दुई प्रमुख दलले संविधानको रक्षार्थ भन्दै संयुक्त आन्दोलनमा जाने सङ्केत गरेका छन् । यता, एमालेले पनि निर्वाचनभन्दा पार्टी महाधिवेशनका लागि टेन्ट गाडेर तयारी थालेको छ । उता, कांग्रेसले पनि संसद् पुनःस्थापना हुनुपर्ने माग राख्दै सडकमा जाने सङ्केत गरेको छ । एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित देशभर जनप्रदर्शन गर्ने निर्णय गरिसकेको छ । एमालेको पछिल्लोपटक सम्पन्न केन्द्रीय कमिटीको बैठकले पनि वर्तमान सरकार असंवैधानिक रूपमा गठन भएको निष्कर्ष निकाल्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने ठहर गरेको थियो । यसै क्रममा एमालेले सोमबार अर्घाखाँचीमा संविधानको रक्षा एवं प्रतिगामी षड्यन्त्रका विरुद्ध भन्दै जनप्रदर्शन गरेको छ । एमालेले यस्ता र्यालीहरू देशभर गर्ने जनाएको छ ।