मौसम

मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा पनि, भारी वर्षाको पूर्वानुमान


काठमाडौं— बंगालको खाडीमा विकाशित मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा पनि परेको छ । गएरातिदेखि नै मोन्था चक्रवातको असर देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोही प्रभावका कारण आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा वर्षा भएको छ । शुक्रबार बिहानसम्मै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुनुका साथै कोशी, मधेसभर र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

यो प्रणालीले नेपालको धेरै ठाउँमा भरि वर्षा गराउने मौसमविदहरूले बताएका छन् । काठमाडौं उपत्यकामा करिब २४ घन्टासम्म पानी पर्ने प्रक्षेपण गरिएको छ । मधेस र कोशीमा ३६ घन्टासम्म वर्षा हुने पूर्वानुमान गरिएको छ ।