काठमाडौं— अन्तरिम सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न बनाएको उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु गरेको एक महिना बितेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय जाँचबुझ आयोगले त्यसको चार दिनपछि अर्थात् असोज ९ गतेदेखि काम थालनी गरेको थियो । काम थालेको एक महिना भइसक्दासम्म आयोगले विवरण सङ्कलन गर्नेदेखि घटनास्थलमा नै गएर निरीक्षण गर्ने काम गरिरहेको छ । हाल हेटौँडामा रहेका आयोगका अध्यक्ष कार्की त्यहाँबाट मधेश प्रदेशको पश्चिमी भागहरूमा पुग्ने कार्यतालिका छ । त्यस्तै, सदस्य रहेका पूर्वएआईजी विज्ञानराज शर्माले विराटनगरलगायतका क्षेत्रमा एक चरण भ्रमण गरिसकेका छन् भने अब पोखरालगायतका क्षेत्रमा पुग्ने योजना छ । अर्का सदस्य विश्वेश्वर भण्डारी नेपालगञ्जलगायत पश्चिम क्षेत्रका केही ठाउँको स्थलगत भ्रमण गरेर सूचना सङ्कलन गर्ने तयारीमा छन् । यसअघि आयोगले सरकारी भवन, उद्योग–व्यवसाय तथा निजी घरहरूको क्षतिको विवरण मगाएकोमा प्राप्त विवरणको अध्ययन भइरहेको छ । आगजनीमा रासायनिक पदार्थको प्रयोग भएको भन्ने विषयमा पनि आयोगले प्रहरीको विधिविज्ञान प्रयोगशालालाई आगजनीको अवशेषबाट सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको छ । भदौ २४ गतेको घटनासँग सम्बन्धित करिब ३० हजारभन्दा बढी भिडिओहरू प्राप्त गरेको आयोगले प्रहरीको साइबर विज्ञमार्फत त्यसको छानबिन गराइरहेको छ । त्यस्तै, २३ गते प्रयोग भएका गोलीको पनि हतियारविज्ञबाट जाँच गराइएको छ र गोली लागेकाहरूको पोस्टमार्टम रिपोर्टहरू मगाइए पनि हालसम्म प्राप्त नभएको जाँचबुझ आयोग सम्बद्ध स्रोतले बताएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूको विवरण आयोगले प्राप्त गरिसकेको छ र अब बयान लिने काम अघि बढाउनेछ । यसरी कार्यतालिका नै बनाएर काम गरिरहेको आयोगलाई राजनीतिक दलहरूले भने चुनौती दिइरहेका छन् ।
देश


प्रतिक्रिया