काठमाडौं— दलितलाई खोई ? भन्दै फलामको साङ्लोमा बेरिएर सडकमा उभिने खगेन्द्र सुनारले आफ्नै मतिले मुखमा आएको मन्त्री पद गुमाएका छन् । आइतबार सुनार श्रममन्त्री बन्ने चर्चा थियो । शपथ लिन सिंहदरबार आउने तयारीमा थिए । तर, उनका कैयन विवाद सतहमा आएपछि अन्तिम समयमा मन्त्रीको सूचीबाटै उनको नाम काटियो ।
सुनारविरुद्ध विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भएर फरार अभियुक्तका रुपमा थिए । सुर्खेतमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनले २०८१ सालमा मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात गरेका थिए । यता काभ्रेबाट पनि उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । अदालतको अपहेलना, अपशब्द र विद्युतीय कारोबारको आरोप लागेका सुनार काभ्रेपलाञ्चोक जिल्ला अदालतको फरार सूचीमा थिए । अधिवक्ता मनीषा गौतमविरुद्ध उनले अपशब्द प्र्रयोग गरेका थिए । उनीविरुद्ध अहिले महिला आयोगमा पनि बहुविवाहको उजुरी छ । दैलेखका युवाहरुलाई विदेश पठाउने भन्दै रकम असुलेको आरोपमा उनी यसअघि पक्राउ परेका थिए । पूर्वसञ्चारकर्मी समेत रहेका सुनार दैलेखबाट कांग्रेसका निर्वाचित महासमिति सदस्य पनि हुन् । उनी भदौ २४ गतेको जेनजी प्रदर्शनमा समेत सर्वोच्च अदालत जलाउन उक्साउनेहरुको भीडमा भेटिएका थिए ।
देश


प्रतिक्रिया