काठमाडौं— सरकार र जेनजीहरूबीच जेनजी आन्दोलनका माग र मुद्दाहरूको दस्तावेजीकरण तथा त्यसको कार्यान्वयनका लागि लिखित सम्झौता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सरकार र जेनजीहरूबीच लिखित सम्झौता हुन लागेको हो ।
२०६३ सालमा विस्तृत शान्ति सम्झौता गरिएजस्तै अहिले पनि आन्दोलनकारी र राज्यबीच लिखित सम्झौता गर्न लागिएको बताइएको छ । अहिले जेनजीका विभिन्न समूहहरूसँग अनौपचारिक छलफल चलिरहेको र केही दिनमै औपचारिक वार्ता गरी मस्यौदालाई अन्तिम रुप दिइने बताइएको छ । सम्झौताकै लागि विभिन्न ८ वटा जेनजी समूहसँग सरकारले औपचारिक वार्ता गर्न लागेको छ ।
सरकारी पक्षबाट जेनजीहरुसँग संवाद र छलफलको संयोजन प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले गर्नुभएको छ । गत २५ असोजमा राष्ट्रपति भवन शीतल निवासमा विभिन्न समूहका जेनजी प्रतिनिधिहरुसँग सरकारले छलफल आयोजना गरेको थियो । त्यसदिन राष्ट्रपति रामचन्द्र पौडेल आकस्मिक बिरामी परेपछि प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीहरूसँग मात्र छलफल भएको थियो ।
राष्ट्रपति पौडेल अस्पतालबाट फर्किएपछि पुनः अर्को वार्ता ३० असोजमा शीतलनिवासमै भएको थियो । उक्त छलफलका क्रममा आन्दोलनकारी पक्षले लिखित सम्झौता हुनुपर्ने माग राखेका थिए ।


प्रतिक्रिया