काठमाडौं— कुनै समय स्वतन्त्र मधेशको नारा लगाउने डा. सीके राउत नेतृत्वको जनमत पार्टी, जुन मधेशवादी दलहरूको वैकल्पिक शक्तिको रूपमा उदाएको थियो, आन्तरिक द्वन्द्वकै कारण विभाजनको चपेटामा परेको छ । सात वर्षअघि निकै उत्साहका साथ मधेशमा वैकल्पिक शक्तिका रूपमा उदाएको यो पार्टी अहिले चार टुक्रामा विभाजित भइसकेको छ, जसले गर्दा यो दल पनि अन्य मधेशवादी दलभन्दा फरक देखिन सकेन । राउत नेतृत्वको जनमत पार्टीबाट विद्रोह गरेका नेताहरूले दीपक साहको नेतृत्वमा ‘जनस्वराज पार्टी’ गठन गरेका छन् । यस्तै, कैलाश महतोको नेतृत्वमा ‘स्वाधीन मधेश जनअभियान’ पहिलेदेखि नै सक्रिय छ । संघीय सरकारमा मन्त्री बनिसकेका अब्दुल खान पनि नयाँ पार्टी खोल्ने विषयमा विचार–विमर्शमा छन् । २०७९ सालको चुनावमा मधेशको राजनीतिमा बलियो पकड राख्ने उपेन्द्र यादवलाई पराजित गर्नेदेखि बाराको उपनिर्वाचनमा उनलाई गठबन्धन गरेर लड्नुपर्ने अवस्थामा पु¥याउने डा. राउतको राजनीतिक यात्रा एकाएक कमजोर बन्दै गएको छ । निर्वाचनपछि मधेश प्रदेशको मुख्यमन्त्रीसमेत आफ्नै पार्टीको बनाएका राउत अहिले त्यही पद गुमाएर निरीह बनेका छन् । पार्टी छाडेर जाने नेताहरूले अध्यक्ष राउतको तानाशाही प्रवृत्ति र परिवारवादका कारण आफूहरू बस्न नसकेको आरोप लगाएका छन् ।
देश


प्रतिक्रिया