काठमाडौं— दुई वर्षअघि इजरायलमा हमासले गरेको आक्रमणपछि बन्धक बनाइएको अवस्थामा मारिएका विपिन जोशीको शव २ वर्ष १३ दिनपछि सोमबार नेपाल ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका गृहमन्त्री आमप्रकाश अर्याल, सूचना तथा सञ्चार मन्त्री जगदीश खरेल, ऊर्जा जलस्रोत तथा यातायात मन्त्री कुलमान घिसिङ, सरकारका उच्च अधिकारीहरूका साथै नेपालस्थित इजरेली राजदूतले श्रद्धाञ्जलि अर्पण गरे । श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री कार्कीले विपिन जन्म दिने आमाको मात्र नभई सिङ्गो नेपाल र प्रत्येक नेपाली आमाको छोरा भएको बताइन् । सम्बोधनका क्रममा स्तब्ध बनेकी प्रधानमन्त्री कार्कीले अब उनलाई कसैले पनि बिर्सन नसक्ने र उनले गरेको सङ्घर्ष, हिम्मत र साहसप्रति गौरव गर्नुपर्ने बताइन् । त्यसो त लामो समयसम्म विपिनको अवस्था अज्ञात रह्यो । अन्ततः इजरायल र हमासबीच पछिल्लो समय भएको युद्धविराम सहमतिपछि कैदी बन्दी आदानप्रदान सम्झौता अनुसार हमासले सार्वजनिक गरेको सूचीमा विपिनको पनि नाम परेको थियो । तर, उनी जीवित छन् वा मृतक त्यसबारे नखुल्दा केही समय अन्योलकै अवस्था बन्यो । जीवित बन्दीको रिहाइसँगै विपिनको भने मृत्यु भइसकेको खबरले सबैलाई स्तब्ध बनाएको थियो ।
समाचार


प्रतिक्रिया