देश

तिहारको दोस्रो दिन आज बिहान कुकुरतिहार र साँझ लक्ष्मीपूजा गरिँदै


काठमाडौं — तिहारको दोस्रो दिन आज बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ । आज कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदैछ । सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ ।

कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी तिथि रहेको छ । त्यसपछि औँसी तिथि लाग्छ । लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले आजै लक्ष्मीपूजा परेको हो ।

समितिले आजै लक्ष्मीपूजा मनाउन निर्देश गरे पनि वैदिक कालगणनाका अनुयायी तथा सूर्योदयको तिथिलाई आधार मानेर कर्म गर्नेहरूले भने भोलि लक्ष्मीपूजा गर्ने तयारी गरेका छन् । भोलि ४ बजेर २९ मिनेटसम्म औँसी तिथि रहेको छ । सफासुघ्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुघ्घर पारी, लिपपोत गरिन्छ ।

यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।