देश

ब्यारेकले जोगाएको ओली क्याबिनेट ः दीपक खड्का भागे, पृथ्वीसुब्बाको फुर्ती हरायो, विष्णु र आरजु तंग्रिँदै (भिडियोसहित)


काठमाडौं— देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवामाथि रक्तपात हुने गरी राज्यले गोली बर्साएपछि आन्दोलन हिंसामा बदलियो । सरकारले देखाएको अमानवीय व्यवहारको प्रतिकारमा भोलिपल्ट भदौ २४ गते ठूलो संख्यामा नागरिक सडकमा उत्रिँदा मुलुकका कैयौँ ऐतिहासिक संरचनाहरू ध्वस्त मात्र बनेनन्, दुईतिहाइ सरकारको दम्भ पालेका केपी शर्मा ओलीले राजीनामा नै दिएर सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट भाग्नुप¥यो । ओलीले राजीनामा दिनुअघि नै तत्कालीन गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका थिए । तर, अहिले उनीहरूले राजीनामा दिएर मात्रै उन्मुक्ति पाउनु नहुने आवाज उठेपछि तीन महिनाको समय दिएर छानबिन आयोग गठन गरी काम भइरहेको छ । यद्यपि, आयोगको छानबिन चलिरहेकै भए पनि उनीहरूलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने भन्दै जाहेरी परेको छ । प्रधानमन्त्रीको कुर्सीबाट च्युत भएका ओली अहिले भक्तपुरको गुण्डुमा युवा संघको सुरक्षामा सार्वजनिक फोरममा सामेल हुने गरेका छन् भने, मातृशोकमा रहेका लेखक पनि पार्टीको बैठकमा उपस्थित हुन थालिसकेका छन् । हिंसा र विध्वंशको मुख्य जिम्मेवार ओली र लेखकलाई ठह¥याइरहँदा पहिलो दिनको घटनाको जिम्मेवार आफू रहेको स्वीकारे पनि दोस्रो दिनको घटनाको दोषी पनि आफूलाई बनाएकोमा लेखकको आपत्ति छ ।