काठमाडौं— चाडपर्वको आगमनसँगै माटोका भाँडा बनाउने कुम्हाल समुदायलाई भ्याइनभ्याई भए पनि वर्षका अन्य समयमा भने उनीहरू कामविहीन बन्न पुग्छन् । माटोका भाँडाको बजार अन्य समयको तुलनामा चाडपर्वमा चम्किने हुँदा यो समय उनीहरूका लागि कमाइ गर्ने मुख्य अवसर हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२, बसहियाका ७० वर्षीय उपेन्द्र पण्डित यतिबेला लक्ष्मीपूजा र आस्थाको महापर्व छठका लागि माटाका भाँडाकुँडा बनाउन र बेच्नमा व्यस्त देखिन्छन् । चाडपर्वमा माटोका भाँडाकुँडाको कारोबार राम्रो हुने भएकाले उनीजस्तै कुम्हाल समुदायका अन्य व्यक्तिहरूको पनि व्यस्तता बढेको छ । दीपावली र छठजस्ता पर्वमा माटोको दियो, हात्ती, ढकना, सर्वालगायतका सामग्रीको माग ह्वात्तै बढ्छ । तर, एकातिर आफ्नो पुख्र्यौली पेशा नै लोप हुन लागेको र अर्कोतिर विद्युतीय बत्तीले माटोको दियोको स्थान लिन थालेपछि उपेन्द्रजस्ता पुराना कालीगढहरू चिन्तित छन् । उनीहरू मेहनतअनुसारको उचित मूल्य नपाएकोसमेत गुनासो गर्छन् । यही पेशामा मात्रै आश्रित भएर घर–परिवार चलाउन निकै कठिन हुँदै गएको उनीहरूको साझा पीडा हो ।
देश


प्रतिक्रिया