काठमाडौं—गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा पहिलो दिन (२३ गते) प्रदर्शनकारीमाथि राज्यपक्षबाट दमन भएपछि दोस्रो दिन (२४ गते) देशैभर हिंसा भड्कियो । प्रदर्शन चर्केपछि देशभरका विभिन्न २८ वटा कारागारबाट धमाधम कैदीबन्दीहरू भागेका थिए । आन्दोलनअघि देशभरका कारागारमा ३० हजार ६४६ जना कैदीबन्दी थिए । कारागार व्यवस्था विभागका अनुसार ९ बालसुधार गृह र २८ कारागारबाट कुल १४ हजार ५ सय ५३ जना कैदीबन्दी भागेका थिए । कारागार र सुधारगृहबाट भागेकामध्ये गत सोमबार अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कुल आठ हजार ८५१ बन्दी कारागार फर्किसकेका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ५ हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कुल ५ हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले फरार कैदीबन्दीलाई असोज २० गते सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । तर, अल्टिमेटम सकिँदा पनि ठूलो संख्यामा कैदीबन्दी फरार रहेका छन् । यसअघि मन्त्रालयले फरार बन्दीको खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन गरेको थियो । सरकारको सूचनालाई बेवास्ता गर्ने कैदीबन्दी र उनीहरूलाई आश्रय दिने व्यक्तिलाई समेत प्रचलित कानुनबमोजिम कारबाही गरिने कारागार व्यवस्थापन विभागले चेतावनी दिएको छ । आन्दोलनका क्रममा सुरक्षा घेरा तोडेर भाग्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो । यस्तै, नौबस्ता बालसुधार गृहमा भएको झडपमा पाँच बालबन्दीको मृत्यु भयो । कैदीबन्दीहरूले भाग्ने क्रममा कारागारमा तोडफोड र आगजनीसमेत गरेका थिए, जसबाट ३१ वटा कारागारमा क्षति पुगेको विभागले जनाएको छ ।
देश


प्रतिक्रिया