Breaking

तलब पाइएन भनेर मधेसका शिक्षकबाट ५ सयभन्दा बढी गुनासो आएपछि शिक्षामन्त्री पुनको प्रश्न- यस्तो बेथिति कसरी भयो ?


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले तलब नपाएको भनेर सबैभन्दा बढी मधेस प्रदेशका विद्यालय शिक्षकबाट आएको बताएका छन्।

दसैँजस्तो चाडमा पनि तलब पाइएन भनेर ५ सयभन्दा बढी गुनासो आएकाले यस विषयमा आफूले बुझिरहेको उनले उल्लेख गरेका छन्। 

‘तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेसबाट आएको छ। बर्ष दिनमा आउने दसैँ, तिहार र छठ पर्वजस्तो महान् चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो’, उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षा मन्त्रालयले सबै पालिकाहरूलाई पैसा पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दै छु र सो बेथितिको समाधानको उपाय खोज्दै छु।’

यसअघि शिक्षामन्त्री पुनले शुक्रबार हिजो आइतबारसम्ममा शिक्षकलाई तलब उपलब्ध नगराउने पालिकालाई कारबाही गर्ने बताएका थिए।