काठमाडौं — नेपालीको महान् चाड बडादशैं घरआँगनमा भित्रिसकेको छ । देशभर दशैंको किनमेल गर्नेदेखि घर जानेहरूको चहलपहल सुरु भएको छ । तर, जेन–जी पुस्ताको आन्दोलनको प्रभाव विभिन्न क्षेत्रमा देखिएको छ । आन्दोलनले देशको मेरुदण्ड मानिने अर्थतन्त्र नै डामाडोल हुन पुगेको छ भने राजनीतिक अस्थिरता पनि कायमै छ, जसको प्रत्यक्ष असर दशैंको बजारमा परेको छ । गएका वर्षहरूमा जस्तो रौनक यो पटक छैन । एकातिर पहिरोले मुख्य राजमार्गहरु पटक–पटक अवरुद्ध हुनु, अर्कोतर्फ चाडबाडको मौका छोपी सडक यातायात तथा हवाई भाडा महँगिनु र बजार मूल्य आकासिनुले सर्वसाधारणको उत्साहमा कमी आएको हो । फूलपाती नजिकिँदै गर्दा बसपार्कमा घर फर्किनेहरूको भीड बढ्नु पर्ने हो, तर यो वर्ष अवस्था फरक छ । जेन–जी आन्दोलनका कारण विद्यालय तथा क्याम्पस छिट्टै बिदा हुनु र यातायात महासंघले अग्रिम टिकटको व्यवस्था नगर्दा अधिकांश यात्रु दशैं सुरु हुनुभन्दा अगाडि नै घर गइसकेका छन् । काठमाडौंमा बस्दै आएका धेरैजसो बाढी–पहिरोको त्रासका कारण घर नजाने मनस्थितिमा छन् । यही कारण बसपार्क तथा टिकट काउन्टरमा पहिलेको जस्तो बाक्लो भीड देखिँदैन ।
देश


प्रतिक्रिया