समाचार

आज नवरात्रको पाँचौ दिन,देवी स्कन्दमाताको पूजा–आराधना गरिँदै


काठमाडौं— आज बडादशैं अर्थात नवरात्रको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौ दिन स्कन्दमातालाई पुकार्ने गरिन्छ । ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।

सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले स्कन्दमाताको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने स्कन्दमाता पद्मासनसहित सिंहमा सवार रहने वर्णन छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।