देश

आर्थिक संकटमा देश, जेनजी आन्दोलनले निजी क्षेत्र आतंकित, ठूला व्यापारी उठ्ने, सानालाई ठूलो संकट


काठमाडौं— भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलनले मुलुकको अर्थतन्त्रलाई गहिरो र अपूरणीय क्षति पुर्याएको छ । आन्दोलनको नाममा निजी क्षेत्रका प्रतिष्ठानहरूलाई योजनाबद्ध रूपमा निशाना बनाइँदा देशको समग्र लगानीको वातावरण ध्वस्त भएको छ भने व्यवसायीहरूको आत्मबल शून्यमा झरेको छ । प्रारम्भिक आकलनअनुसार, सो आन्दोलनका कारण निजी क्षेत्रमा मात्रै करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ, जसले पहिलेदेखि नै दबाबमा रहेको अर्थतन्त्रलाई थप सङ्कटमा धकेलेको छ । आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग, व्यापारिक प्रतिष्ठान र व्यक्तिगत सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनीका घटना भए । विशेषगरी ठूला व्यापारिक घराना र उद्योगहरूलाई लक्षित गरी भएको यो आक्रमणले निजी क्षेत्रको मनोबल पूर्ण रूपमा गिराएको छ । आन्दोलनपश्चात् अन्तरिम सरकार गठन भएपछि प्रधानमन्त्री सुशीला कार्कीको शपथसँगै निजी क्षेत्रले ‘खरानी टकटक्याएर भए पनि पुनः उठ्ने’ सङ्कल्प गरेको थियो । प्रधानमन्त्री कार्कीले पनि सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । तर, अर्बौंको क्षति व्यहोरेको यो क्षेत्र उठ्नै नसक्ने गरी थला परेको छ र उद्योग, पर्यटन, व्यापार र उत्पादन क्षेत्र नै ठप्प हुने खतरा बढेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्नका लागि सरकारबाट सुरक्षा र सहयोगको अपेक्षा राखेको बताएका छन् । उनका अनुसार, युवापुस्ताको आन्दोलनमा घुसपैठ भएका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषीमाथि कारबाही हुनुपर्ने निजी क्षेत्रको जोडदार माग छ ।