देश

सुरक्षा चुनौती बढ्दो, संकटमा प्रहरी, छैन छाना र नाना, हिजो फोडे, आज आफैँ चौकी बनाउँदै नागरिक (भिडियोसहित)


काठमाडौं — दुई दिने जेनजी पुस्ताको आन्दोलनका कारण देशभरका अधिकांश प्रहरी कार्यालयहरू पनि ध्वस्त हुन पुगेका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनको निसानामा परेका प्रहरीहरूको भौतिक सम्पत्ति मात्र सकिएन, उनीहरूको नाना, छाना र खाना नै खोसियो । तर पनि, गिरेको मनोबललाई सम्हालेर उनीहरू आफ्नो कर्तव्य पूरा गर्न पुनः सक्रिय भएका छन् । जेनजी आन्दोलनपछि सडकमा कम देखिएका नेपाल प्रहरी र ट्राफिक प्रहरी क्रमशः तंग्रिँदै सेवामा फर्कन थालेका हुन् । नेपाली सेनाको सुरक्षाका बीच पनि प्रहरी सङ्गठनले आफ्ना ३ कर्मचारी गुमाउन पुग्यो, जसले गर्दा यतिबेला सङ्गठन नै कमजोर अवस्थामा छ । आन्दोलनमा कुल ६१० प्रहरी घाइते भएका छन् भने अझै ६९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । नेपाल प्रहरीतर्फ मात्र तीन सय ८४ तथा सशस्त्र प्रहरी बलतर्फ दुई सय २६ जना घाइते भएका हुन् । नेपाल प्रहरीका घाइतेमध्ये ६४ जना अझै अस्पतालमा उपचार गराइरहेका छन् भने सशस्त्र प्रहरीका पाँच जना अस्पतालमा छन् । भदौ २४ गते त सिङ्गो प्रहरी कार्यालयलाई नै आन्दोलनकारीले नियन्त्रणमा लिएर कतिपयलाई कुटपिट गरेका थिए । प्रहरी वृत्त बानेश्वरका प्रहरीलाई त ज्यान जोगाउन बागमती नदीमा हाम फालेको अवस्थामा पनि ढुङ्गामुढा प्रहार गरियो । भ्रष्टाचारको विरोधमा भएको सो आन्दोलनमा प्रहरी पहिलो निसाना बन्यो, जसमा तीन प्रहरीले ज्यान गुमाए । आन्दोलनकारीले काठमाडौँ उपत्यकाका अधिकांश प्रहरी कार्यालय जलाएका छन् भने प्रहरीका पोसाक र हतियारसमेत लुटिएका छन् ।