समाचार

Gen-Z को एजेन्डामा कांग्रेस एमाले, शीर्ष नेतालाई हटाउने संकेत, रविको विकल्प खोज्दै रास्वपा


काठमाडौं— आफ्ना ‘बा’, ‘दाइ’ र ‘भाउजु’को आशीर्वाद लिँदै सधैँ छत्रछायाँमा बसेर लुट मच्चाइरहेका (दोस्रो तहका नेता) जेनजी आन्दोलनले सत्ताबाट सडकमा पछारेपछि एकै पटक ब्युउँझिएका छन् । आफूलाई लोकतन्त्रको हिमायती ठान्ने कांग्रेसमा बेलाबेला नेतृत्व परिवर्तनको चर्चा नचलेको होइन, तर ‘दाइ–भाउजु’को न्यानो काखको निद्रामा मस्त रहेका कांग्रेसीजन ब्युउँझिनलाई जेनजी पुस्ताले आगो झोस्नुप¥यो । नेपाली सेनाको सुरक्षा घेराबाट आँखा मिच्दै ब्युउँझिएका नेपाली कांग्रेसका दोस्रो तहका नेता गगन थापा र विश्वप्रकाश शर्माले गल्ती स्वीकार्दै अब नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको भन्दै बहस सुरु गरेका छन् । तर, दुई कार्यकाल कांग्रेसको सभापति र पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषीको भविष्य वाणी अनुसार छैटौँ पटक प्रधानमन्त्री बन्ने लोभमा बसिरहेको अवस्थामा जेनजीको आक्रमणमा परे ।