राजनीति

सुशीला कार्कीको तीन दिन, प्रहरी र घाइतेको मनोबल बढाउँदै, सिंहदरबार छिरेर के–के गरिन् निर्णय ? (भिडियो)


काठमाडौं—देशकै पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेकी छन् । उनले पुरानो गृह मन्त्रालय परिसरमा हालै निर्माण गरिएको कार्यालयमा देशको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् ।

अब नयाँ सरकार यही भवनस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालन हुनेछ । भदौ २४ गतेको ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदर्शनकारीले जलाइदिएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ कार्यालयको व्यवस्था गरिएको हो ।

भदौ २७ गते शुक्रबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् । राष्ट्रपति पौडेलले ‘जेनजी’ आन्दोलनले निम्त्याएको असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएका माग र आकाङ्क्षाअनुसार, राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा कार्कीलाई नियुक्त गरेका थिए । ‘जेनजी’ आन्दोलनकै बलमा नियुक्त भएकी उनले आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटन गरेकी छन् ।