Breaking

फुटको डिलमा रास्वपा, सुमनाले विद्रोह छेडिन्, पार्टी छाड्नेको लर्को, बालेनको नयाँ पार्टीमा जाने ? (भिडियो)


काठमाडौं—पुराना दलको विकल्प बन्ने महत्त्वाकांक्षासहित उदाएको रास्वपा आन्तरिक कलह, नेताकेन्द्रित प्रवृत्ति र वैचारिक अस्पष्टताको भुमरीमा फसेको देखिन्छ । एकपछि अर्को गर्दै नेताहरूको बहिर्गमनले पार्टीको जग कमजोर मात्र बनाएको छैन, रवि लामिछानेको ‘ब्रान्ड’मा मात्र टिकेको पार्टीको संरचना कति खोक्रो रहेछ भन्ने पनि उदाङ्गो पारेको छ ।

पूर्वशिक्षामन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले रास्वपा छाडेको घोषणा गर्नुले पनि यसमा बल पुगेको छ । सुमनाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र निरन्तर भइरहेका गल्ती, नेतामुखी प्रवृत्ति र आलोचकहरूविरुद्धको ‘मिडिया ट्रायल’प्रति असन्तुष्टि राख्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

‘कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने अवस्था स्वीकार्य छैन,’ श्रेष्ठले भनेकी छन्, ‘रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो ।’ यही कारणले पार्टी छाडेको उनको भनाइ छ । रवि लामिछानेको ब्रान्डमा टिकेको रास्वपा उनकै ब्रान्डमा चल्नुपर्ने बाध्यताकै कारण पार्टीबाट अलग हुनेको संख्या बढ्दै गएको छ ।