काठमाडौँ । आज अन्तरिम सरकार गठन हुने भएको छ । अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बनाउने लगभग पक्का भएसँगै मुलुकले पहिलोपटक महिला प्रधानमन्त्री पाउने भएको हो। नेपालमा महिला राष्ट्रपतिको रेकर्ड भने विद्यादेवी भण्डारीले बनाइसकेकी छन्।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजी प्रतिनिधिसहितको वार्तामा अन्तरिम प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश कार्कीलाई बनाउन सर्वपक्षीय समझदारी बनेको हो।
यद्यपि संसद् विघटनको विषयमा कुरा अड्किँदा निष्कर्षमा पुग्न भने बाँकी छ। यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आज पुनः जेन जीसहित सरोकारवाला पक्षसँग वार्ता गर्दै छन्।
कार्कीलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गर्न जेनजी प्रतिनिधि, जेनजीसँग निकट देखिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच पनि समझदारी बनेको हो। तर संसद् विघटन गरिनुपर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुन वार्ता गर्न लागिएको हो।


प्रतिक्रिया