समाचार

उपत्यकाका विभिन्न स्थानमा कर्फ्यु , जेनजी युवा आज पनि संसद भवनअगाडि भेला


काठमाडौं — काठमाडौंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यलय काठमाडौंले जानकारी दिएको छ ।

हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो । काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ ।

यस्तै ललितपुर जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ । ललितपुर महानगरपालिकाका वडा नं। ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, वडा नं। २ स्थित सानेपा इन्द्रायणि मार्ग आसपास क्षेत्र र वडा नं। ९ को च्यासल क्षेत्रमा आज बिहान ७ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको हो ।

जेनजीले सोमबार गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।

जेनजी आन्दोलनकोे दास्रो दिन आज पनि बिहानैदेखि युवाहरू नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि भेला भएका छन् । भेला भएका युवाहरूले हिजो भएको घटनाको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।