समाचार

एमाले अध्यक्ष ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुल्यो, उमेरहद कार्यकालको सीमा विधान महाधिवेशनले हटायो


काठमाडौं— एमालेको दोस्रो विधान महाधिवेशनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई तेस्रो पटक अध्यक्ष हुने वैधानिक बाटो खोलेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवेदन सर्वसम्मतले पारित गरेको हो ।

विधान महाधिवेशनले ७० वर्षको उमेरहद र दुई कार्यकालको सीमा हटाएको छ । उक्त निर्णयसँगै ओलीलाई फेरि अध्यक्ष हुने बाटो खुला भएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणबारे भने महाधिवेशनमा कुनै निर्णय भएन ।

अध्यक्ष ओलीले भण्डारीको सदस्यताबारे केन्द्रीय कमिटीमा छलफल हुने आश्वासन दिएका छन् ।