समाचार

आदिवासी, जनजाति, मधेसीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य छन्ः अध्यक्ष महतो


काठमाडौं— राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी, जनजाति, मधेसीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य भएको बताएका छन् । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा आयोजना गरेको जागरण सभामा बोल्दै महतोले काँग्रेस र एमालेले आफूहरूलाई विभाजित गराएको आरोप लगाए ।

सोही विभाजनका कारण अहिले मधेसी, थारु, आदिवासी जनजाति राज्यविहिनको अवस्थामा रहेको उनको आरोप छ । २०७२ मा संविधान जारी हुँदा पनि आफूहरु सँगै मिलेर लडेको स्मरण गर्दै महतोले तत्काल एकीकरण नभएपनि मोर्चामै रहेर आफ्ना अधिकार तथा पहिचानका लागि मिलेर संघर्ष गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘विगतमा मधेसी, थारु, आदिवासी जनजाति, दलित, पिछडावर्गहरूले छुट्टाछुट्टै एक्ला एक्लै सङ्घर्ष गरेकाले असफल भयौँ । अब अधिकार, पहिचानका लागि मोर्चाबन्दीको विकल्प छैन ।’

अध्यक्ष महतोले मधेसको अधिकारका लागि अब सबै एक भएर लड्ने बेला भएको बताए ।