समाचार

एमालेको विधान महाधिवेशन आज पनि जारी


काठमाडौं — नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी रहने छ । शुक्रबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन आज समूहगत छलफल हुने जनाइएको छ ।

यसअघि निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत गरिने एमालेले जनाएको छ ।

महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विधान महाधिवेशनमा देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र आयोजककातर्फबाट ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी छन् ।