काठमाडौं— सत्तारूढ एमालेको दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशन आइतबारसम्म चल्नेछ ।
एमालेले २०७८ सालदेखि नीति र नेतृत्व महाधिवेशन अलगअलग गर्ने अभ्यास सुरू गरेको हो । यो विधान महाधिवेशनले आगामी ११ औं महाधिवेशनका लागि नीति र विधानको तर्जुमा गर्नेछ । आजै दस्तावेजहरू प्रस्तुत हुनेछन् । अध्यक्ष केपी शर्मा ओली ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै लेखा, अनुशासन, निर्वाचन र सल्लाहकार परिषदको अलगअलग प्रतिवेदन पनि प्रस्तुत हुनेछन् । शनिबार प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर दस्तावेजमाथि छलफल गराइनेछ । आइतबार १० वटा समूहका नेताहरूले राजनीतिक प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुत गर्नेछन् । नेतृत्वले त्यसमाथि जवाफ दिएपछि पार्टी केन्द्रीय निर्वाचन आयोगको निर्वाचन प्रक्रिया सुरू हुनेछ ।
विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोग निर्वाचित गर्ने एमालेमा परम्परा छ । आगामी महाधिवेशनको नेतृत्व चयन सोही आयोगले गर्नेछ । निर्वाचन आयोगका पदाधिकारी र सदस्य निर्वाचित गरेपछि समसामयिक प्रस्तावसहित विधान महाधिवेशन सम्पन्न हुने एमालेले जनाएको छ । विधान महाधिवेशनमा कुल २ हजार ३४१ जना सहभागी हुनेछन् ।
विधान महाधिवेशनलाई एमालेले उच्च प्रविधियुक्त बनाएको छ । प्रतिनिधिहरूलाई डिजिटल कार्डको प्रबन्ध गरिएको छ । गोदावरी पुग्ने मुख्य सडकका ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।


प्रतिक्रिया