देश

महाकाली नदीको कटानले कञ्चनपुरको कुतियाकवर बस्ती जोखिममा, सय परिवार विस्थापित


काठमाडौं— महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ। यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो ।

स्थानीयका अनुसार नदीको कटानले दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ।बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि नदीको कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । २०२२ देखि बस्ती बसेको कुतियाकवरमा यसअघि १५० परिवारको बसोबास थियो ।

महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि सय परिवार विस्थापित भएका छन्। विसं २०७४ मा जोगबुढा नदीमा झोलुंगे पुल बनेर नगरसँग जोडिएपछि स्थानीयलाई केही राहत भएको थियो ।

त्यसअघि स्थानीयलाई नगरपालिका पुग्न ढुंगाको प्रयोग गर्नुपर्ने बाध्यता थियो।

दोधारा–चाँदनीका नगरप्रमुख किशोर लिम्बूले कुतियाकवरमा महाकाली नदीले कटान गरिरहेकाले बस्तीको सुरक्षाका लागि दुई वटा सुरक्षित आवास निर्माण गरिएको बताए ।