देश

रास्वपा–माओवादी कनेक्सन ः रवि थुनिनुमा प्रचण्ड कति दोषी ?, नजिकिनुको स्वार्थ मिसन ८४ (भिडियोसहित)


काठमाडौं— माओवादी असफल हुँदाको परिणामस्वरुप जन्मिएको रास्वपा अहिले राजनीतिक संकटमा छ । सभापति जेलमा हुँदा सहज पक्कै छैन । तर, माओवादी भन्ने पार्टीले यही मौकामा अर्को राजनीति गर्दैछ, भन्दा पत्यार लाग्दो नसुनिन सक्छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार रास्वपा बचाउनुपर्ने जिम्मेवारी पनि माओवादीले लिनुपर्ने बताए ।
सुन्दा जति मिठो छ त्यति तीतो अर्थ लाग्ने यो अभिव्यक्तिको अहिले विभिन्न कोणबाट चर्चा भइरहेको छ । प्रचण्डले हो, कांग्रेस–एमालेले रास्वपालाई सिध्याउन लागे, त्यसकारण माओवादीले जोगाउन खोज्यो होला पनि भन्न सकिएला । तर, प्रचण्ड यस्तो अवस्थामा छन्, जो आफूलाई आफ्नै पार्टीभित्रका प्रश्नले जोगाउन सकिरहेका छैनन् । एक्लै चुनावमा गए पार्टीकै अस्तित्व जोगाउन नसक्ने अवस्थामा छन् । उनले रास्वपा जोगाउने भन्दै दिएको अभिव्यक्ति आफैँमा तार्किक र विश्वसनीय देखिँदैन । किन कि माओवादी आफैँले रास्वपालाई संकटमा पार्न भूमिका खेलेको छ ।