ललितपुरको मितेरी सहकारीको रकम अपचलन भएको घटनामा फरार रहेका आरोपीत ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरि बुधवार राति काठमाडौं ल्याइएको छ । इन्टरपोलमार्फत प्रहरीले भण्डारीलाई पक्राउ गरेर नेपाल ल्याएको हो । त्यसका लागि एसपीको कमान्डमा नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । रेड कर्नर नोटिस समेत जारी भएका भण्डारी कम्बोडियामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
भण्डारी सुरुमा थाइल्यान्डबाट कम्बोडिया हुँदै हाल श्रीलंकाको कोलम्बो पुगेको प्रहरीको सुरुवाती अनुमान थियो । बर्दिया घर भएका ज्योति समेतले सहकारीको रकम अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । भण्डारीलाई काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाइएको छ ।
मितेरी सहकारीको ठगी प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ । भण्डारीले सहकारीबाट क्रिप्टोमा लगानी गर्ने भन्दै रकम लगेको सिआइबीको अनुसन्धानमा देखिएको थियो। भण्डारी यस ठगी प्रकरणमा प्रमुख आरोपी हुन् ।
प्रहरीले भण्डारीसहित नेपाली कांग्रेसका सांसद एवं उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्ध पनि रेड कर्नर नोटिस जारी गरेको थियो । यही सहकारी ठगीमा सिआइबीले कांग्रेसका उपसभापति धनराज गुरूङसँग पनि पटकपटक बयान लिएको छ। यद्यपि गुरुङले ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन ।
मितेरी सहकारीको १४ करोड ८१ लाख रुपैयाँ रकम अपचलन गरेको आरोप उनीहरूमाथि छ।
प्रतिक्रिया