समाचार

लिखुपिकेमा बेरूजुको चाङ,सेनिटरी प्याड खरिदमा अनियमितता


पासाङ शेर्पा
सोलुखुम्बु – लिखु पिके गाउँपालिकाका जनप्रतिनिधिले सेनिटरी प्याडमा समेत अनियमितता गरेको खुल्न आएको छ ।
महालेखा परीक्षाको प्रतिवेदन अनुसार सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले विधि र प्रक्रियाभन्दा बाहिर गएर सेनिटरी प्याड खरिद गरिएको र त्यसको मूल्य समेत निर्धारण नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

सेन्टरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम विद्यालयको छात्राको संख्या यकिन गरी आवश्यक पर्ने सेनिटरी प्याड शिक्षक शाखा मार्फत माग गर्ने र शाखाले स्थानीय तहमा भएको शैक्षिक व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार विद्यालयलाई आवश्यकता अनुसार वितरण गर्नु पर्ने हो ।

तर गाउँपालिकाले आर्थिक वर्षको सुरूवाती चरणमै खरिद गर्नुपर्ने सेनिटरी प्याड वर्षको तेस्रो त्रैमासिकमा पाँच हजार ३ सय ६८ प्याकेट सेनिटरी प्याड ३ लाख ५६ हजार ९ सय ७२ मा खरिद गरिएको छ । यसको होलसेल मूल्य समेत खुलाएको छैन भने कुन विद्यालयका लागि कति वितरण गरियो भन्ने समेत उल्लेख गरिएको छैन। यो तथ्य अनुसार पनि सेनिटरी प्याड खरिदमा गाउँपालिकाका जनप्रतिनिधिले राम्रै रकम झ्वाम पारेको प्रष्ट हुन्छ ।

लिखुपिके गाउँपालिकाले गर्ने खर्चमा वार्षिक रूपमा बेरुजुको सीमा नाघ्दै गएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार लिखुपिके गाउँपालिकामा मात्रै झण्डै २ करोड बेरूजु रहेको पाइएको छ । बेरूजुलाई कम गर्न पालिकाले ध्यान नदिँदा र कार्यविधि भन्दा बाहिर गएर मनपरी खर्च गर्दा लिखुपिकेमा एउटै पालिकामा १ करोड ९० लाख २८ हजारभन्दा बढी बेरूजु निस्किएको छ ।

स्थानीय तहहरूले खर्च प्रणाली पारदर्शी नगर्ने, विधिप्रक्रिया भन्दा बाहिर गएर ठेक्का लगाउने तथा लक्षित योजनामा मनोमानी तरिकाले बजेट खर्च गर्ने जस्ता कार्यले गाउँपालिकामा बर्सेनि बेरूजु रकम बढ्दै गएको छ ।
५ वडा रहेको लिखुपिके गाउँपालिकामा यो वर्ष महालेखाले कूल ५१ करोड ३५ लाख ९७ हजारको लेखापरीक्षणमा १ करोड ९० लाख २८ हजार बेरुजु देखाएको छ ।

उक्त बेरुजु मध्ये असुल गर्नुपर्ने रू. ५१ लाख १ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ लाख १३ हजार, नियमित गर्नुपर्ने रु. ४४ लाख १० हजार, सोधभर्ना नलिएको रू. ६१ हजार र पेश्की बांकी रू. ९० लाख रहेको छ । गतवर्षसम्म रु. ९ करोड ६६ लाख ३५ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु. ११ करोड ४९ लाख ९० हजार रहेको छ ।

निर्वाचनको समयमा आफूलाई जनताको सेवक हुँ भन्ने जनप्रतिनिधिहरू नै ऐन विपरीत अनुगमन बत्ता लिने गरेको पाइएको छ । अनुगमनको नाममा उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले ४१ हजार ६ सय ५० लिएको छ भने वडा नं १ वडाध्यक्ष मिङमार गेल्जे शेर्पा,नम्बर ३ वडाध्यक्ष ध्रव बस्नेत र वडा नम्बर ४ का वडाध्यक्ष अध्यक्ष हिक्मत बहादुर बस्नेत समेत ऐन विपरीत तालिम र गोष्ठीको अनुमान भत्ता ८ सय ५० को दरले लिएका छन् । ८ सय ५० रुपैयाँ समेत नछोड्ने जनप्रतिनिधिहरूबाट अब जनताले के अपेक्षा गर्ने भन्ने मूल प्रश्न भनेको छ । स्थानीयतह भ्रष्टाचार र व्यथितिमा कतिसम्मको लिप्त छन् भन्ने कुरा यसबाट प्रष्ट हुन्छ ।

एउटा एम्बुलेन्स समेत नभएको गाउँपालिकामा अध्यक्षलाई मात्र होइन उपाध्यक्ष समेत सुविधा दिनका लागि ३१ लाखमा जिप खरिद गरेका छन् भने अन्य जनप्रतिनिधि र कर्मचारीको लागि ११ लाखमा तीन थान मोटरसाइकल खरिद गरेका छन् ।
करार कर्मचारी छनोटको लागि लिएको परीक्षामा गाउँपालिका अध्यक्ष मिना बस्नेतको आफन्त नपरेपछि नतिजा नै रोकेको छ । गाउँपालिकामा सुशासनको प्रत्याभूति दिलाउँछु भन्ने जनप्रतिनिधिबाटै सुशासनको धज्जी उडाएपछि आम नागरिकले आक्रोश पोख्न थालेका छन्। स्थानीयतह भ्रष्टाचार र व्यथितिमा लिप्त रहेको बन्ने आरोपलाई महालेखाको प्रतिवेदनले प्रमाणित गरिदिएको छ ।

गाउँ–गाउँमा सिंहदरबारको नारादिएर स्थापना भएको स्थानीय तहमा जनप्रनिनिधि आएपछि विकास र सरकारी सेवा प्रभावकारी हुने जनतामा आशा थियो । तर, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा जनताको त्यो आशा निराशामा परिणत भएको छ ।