काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखनको सङ्गठित अपराधमा संलग्नहरूको छानबिनका लागि आफूहरूले राखेको मागबाट पछि नहट्ने स्पष्ट पारेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सरकारले ल्याउन लागेका विधेयकहरूको महत्त्व आफूहरूले बुझ्ने बताएका छन् ।
विधेयकहरूमा राजनीतिक समर्थन गर्न तयार रहेको उल्लेख गर्दै उनले सरकारले पनि आफूहरूको माग सुन्नुपर्ने बताएका छन् । उनले उक्त प्रकरणमा जोडिएकाहरूको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने अडान रहेको जिकिर गरे ।
उक्त माग केवल आफूहरूको मात्र नभई १८ वर्षदेखि ठगिँदै आएका र अब ठगिनु नपरोस् भन्ने जनताको मागसमेत भएको उनले बताए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नामसमेत जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै लगातार संसद्मा अवरोध जनाउँदै आएको छ ।
प्रतिक्रिया