Breaking

मेयर साम्पाङका समर्थक र उपमेयर बेघाका समर्थक आमनेसामने हुँदा उपमहानगर तनावग्रस्त


काठमाडौं—मेयर हर्क साम्पाङका समर्थक र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरू आमनेसामने हुँदा अहिले धरान उपमहानगरको कार्यालय परिसर तनावग्रस्त बनेको छ। धरान–१७ का वडाध्यक्षसमेत रहेका उपमहानगरका प्रवक्ता सूर्य भट्टराईले दिएको जानकारी अनुसार मेयरका समर्थकहरूले उपमेयरमाथि हुलहुज्ज्त गर्न खोजेका थिए।

लगत्तै उपमेयर बेघाका समर्थक माओवादी कार्यकर्ताहरू पनि उपमहानगर परिसरमा भेला भएका थिए। दुबै समूह ठूलो संख्यामा कार्यालयमा भेला भएर नाराबाजीसमेत गरिरहेको छ।

उपमहानगरमा सोमबारदेखि नै यस्तो भइरहेको थियो। नयाँ बजेटको सिलिङ निर्धारणका लागि सोमबार बैठक चलिरहेका बेला मेयर साम्पाङका समर्थकहरु ठूलो संख्यामा नगरमा आएका थिए। उनीहरूले सोमबार पनि उपमेयरमाथि हातपात प्रयास गरेका थिए। यो तनावको मुख्य कारण बनेको छ, धरान–१६ को बहुभाषिक पाठशालामा निर्माण भएको ग्याबिन जाली।

विद्यालयको सुरक्षाका लागि भन्दै मेयर साम्पाङको नेतृत्वमा केही महिना अघि नै श्रमदान अभियानबाट त्यहाँ जाली हालिएको थियो। तर, काम सकिएको धेरै पछि मेयर साम्पाङले योजनाको रि–इस्टिमेट गराएर, धरान १६ बाहिरका मान्छे राखेर उपभोक्ता समिति बनाएर नगरमा बिल पेस गरेका थिए।

श्रमदानबाट पहिल्यै भइसकेको काममा नगरबाट भुक्तानी गर्न नमिल्ने भनेर उपमेयरले अडान लिएपछि मेयर साम्पाङ रुष्ट बनेका थिए। त्यसपछि उपमेयरले श्रमदानको पैसा भुक्तानी रोकेको भन्दै मेयरले आफ्ना समर्थकहरूलाई नगरमा आउन सर्वाजनिक आह्वान गरेका थिए।